काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । बुधवार काठमाडौँमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्ने अवस्था रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए । शान्ति प्रक्रियाका काम टुंग्याउने विषयलाई कतिपयले बिजनेसको रूपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रूपमा लिएकाले टुंगिन नसकेको बताए ।
‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नू । किनकि अन्तिममा चाहिँ त सडक नै हुने हो की जस्तो मलाई,’ ‘प्रचण्ड’ले भने, ‘अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ ।’
प्रचण्डले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्न सक्ने बताए ।