नेपाल न्युज प्वाइन्ट डटकम
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको तर्फबाट बहस सकियो, भोलि आदेश आउने सम्भावना

काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरूको बहस सकिएको छ । कास्की जिल्ला अदालतमा १६ पुसदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरूको थुनथेक बहस भइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ ।

जाहेरवालाका तर्फबाट बुधबार नै जवाफी बहस सुरु भएको छ । सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि आरोपीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाडेर मुद्दा अघि बढाउने भन्ने आदेश आउनेछ ।

त्यसपछि प्रतिवादीहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । आज आदेश आउने सम्भावना एकदमै न्यून रहेको अदालत स्रोतले बताएको छ । आदेश बिहीवारसम्म आउन सक्ने जनाइएको छ ।

सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।  

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ । रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।  

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update