काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो ।
बिदाइ कार्यक्रममा खेलकुदमन्त्री चौधरीले उमेरमा सानो भएपनि टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । उनले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालयहरुसँग पनि सहकार्य गर्न सकिने बताए ।
यु–१९ महिला टी–२० विश्वकप मलेसियामा आयोजना हुँदै छ । प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेका छन् ।
नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।
नेपाली टोली
पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।