नेपाल न्युज प्वाइन्ट डटकम
अर्थतन्त्रका समस्या समाधानका लागि लागिपर्छु : अर्थमन्त्री पुन

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।

“अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने । 

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने  उनले बताए ।

अर्थमन्त्री पुनले कार्यभार सम्हालेलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् । त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update