
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए । कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।
मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताए ।
संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ ।