
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित ६ विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा शुक्रबार बसेको विपक्षी दलहरूको बैठकका निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ । त्यसैले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए ।
विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलको चेतावनी छ ।
माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीलगायत विपक्षी दलहरूले संसदको अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।