नेपाल न्युज प्वाइन्ट डटकम
मृत्युको खबर

-केडी रेम्निसिङ

मेरो मृत्युको खबर,
पुर्‍याइदिनु कसैले,
उसैकहाँ, कसैगरी,
थपक्क उसको हातमा
थमाईदिनु अनि, 
नभूल्नु भर्पाई लिन,
मृत्युको खबर बुझिलिएँ भनी,

भन्नू कि उसलाई,
मेरो बारे -
उसको त जन्मिनु अगाडि नै मृत्यु भैसक्यो,
अनि,
उसको कथाको पनि अन्त्य भै सक्यो,
सुरु हुनु अघि नै,
उसको सपना पनि,
टुटेर गयो देख्नु अघि नै ।

उ एक टाइम ट्राभलर थियो,
उत्पति हुनुभन्दा पहिल्यै सकियो,
उसको लीला,
भन्नु कि उसलाई,
लाखौं ताराहरु बीचको,
तिम्रो एउटा जुन,
आज उदाउनु अगाडि नै अस्ताइसक्यो,

भन्दिनु कसैले-
जानु अघि उसले 
तिम्रो नाममा,
चिनो छोडेको छ,
यादहरु खोपेको छ,
तिम्रो छातिमा ।

मेरो मृत्युको खबर-
उसैलाई पुर्‍याउनु,
नभुलीकन सिधै,
उसैको हातमा थमाउनु,
जसलाई, जसलाई मैले 
कहिल्यै भेटेको छैन,
जसलाई मैले
कहिल्यै देखेको छैन,
जोसँग मैले
कहिल्यै बोलेको छैन,
मेरो सुखद मृत्युको खबर,
उसैलाई दिनु,
जसलाई मैले,
कहिल्यै सम्झेको छैन ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update