
काठमाडौं : नेकपा एमालेले अन्य दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई आग्रह गरेको हो ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले पाँच राजनीतिक दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा सामेल भएको बताउँदै त्यसमा अन्य राजनीतिक दलहरूलाई पनि यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न आग्रह गरिएको जानकारी दिए ।
मुलुकमा विद्यमान संकट चिर्न सरकार सफल हुने पनि महासचिव पोखरेलले विश्वास छ । यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए ।
सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको हो ।
महासचिव पोखरेलले पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गरिने जानकारी पनि गराए ।