नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस संसदीय दलको बैठक : अध्यादेशका विषयवस्तुबारे सांसदलाई ब्रिफिङ

काठमाडौं : आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने छ । यो सरकार गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको सुदृढीकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ । तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’

बैठकमा कानुन सुधार कार्यदलमा कांग्रेसबाट सहभागी नेताहरूले सांसदहरूलाई अध्यादेशमा समावेश विषयवस्तुबारे जानकारी गराएका छन् ।

कानुन सुधार कार्यदलमा रहेका कानुनविद् सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराए ।

बैठकमा महामन्त्री गगन थापाले दुई दलीय संयन्त्रले गरिरहेका कार्यबारे जानकारी गराएका थिए भने गृहमन्त्री रमेश लेखकले अध्यादेश ल्याउनपर्नुका कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

संसदीय दलको बैठक भोलि पनि बस्नेगरी आजको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update