नेपाल न्युज प्वाइन्ट डटकम
निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । 

सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, “देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।“ मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । “निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,” मन्त्री भण्डारीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने बताए ।

प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update