
पोखरा : आहा रारा पोखरा गोल्डकपको २४औं संस्करण २२ माघदेखि हुने भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको आहा रारा पोखरा गोल्डकप २२ माघदेखि सुरु हुन लागेको हो ।
पोखरा रङ्गशालामा हुने प्रतियोगिताको ‘टाई सिट’ पनि सार्वजनिक भएको छ । प्रतियोगितामा १२ टिमले भाग लिने छन् । नेपालका ए डिभिजन क्लबहरूसहित भारत, बेलायत, उज्बेकिस्तानका टिमहरू पनि प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय नेपाल पुलिस क्लब खेल्ने छ । यो खेलबाट विजेता बनेको टोलीले २६ माघमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ । २३ माघमा विभागीय एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबबिच हुनेछ । यसबाट विजेता बन्ने टोलीले २६ माघमा थ्री स्टार क्लबसँग खेल्नेछ ।
२४ माघमा एनआरटी फुटबल क्लब र एपीआइ पावर चर्च ब्वाइज क्लबबिच खेल हुनेछ । यो खेलको विजेताले २८ माघमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । २५ माघमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र सङ्कटा क्लबबिच खेल हुनेछ । यो खेलको विजेताले २९ माघमा उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
३० माघमा बिग्रेड ब्वाइज, सहारा र पुलिसमध्येबाट विजेता बनेको तथा एनआरटी, चर्च ब्वाइज र आर्मीमध्येबाट विजेता बनेका २ समूहबीच फाइनलमा प्रवेश गर्नका लागि खेल हुनेछ ।
१ फागुनमा थ्री स्टार, एपीएफ र मच्छिन्द्र तथा थन्डरबेल, सङ्कटा र ब्ल्याक बुल्समध्येबाट विजेता बनेको टोलीले फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका फाइनल ३ फागुनमा हुनेछ ।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।
प्रतियोगिताको २३ औँ संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजेता र थ्री स्टार क्लब उपविजेता बनेका थिए ।