नेपाल न्युज प्वाइन्ट डटकम
नेपालको लगातार तेस्रो हार

काठमाडौं : काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी २० आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । 

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सम्झना खड्काले २३ रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सीता राना मगरले  ५ विकेट लिइन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update