नेपाल न्युज प्वाइन्ट डटकम
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : काठमाडौंमा आगामी सातादेखि सुरु हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् । टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् ।

त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् । डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।

फागुन ५ गतेदेखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चार देशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update