नेपाल न्युज प्वाइन्ट डटकम
देशभरकै उत्कृष्ट ४ मा स्याङ्जाको कालीगण्डकी गाउँपालिका

काठमाडौं : स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ । यस्तै स्याङ्जाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउपालिका र फेदीखोला गाउपालिका क्रमशः पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन् ।

जिल्लाको ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्वितीय र तृतीय भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंकसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्वितीय र फेदीखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतीय भएका हुन् ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाको यो दोस्रो कार्यकाल हो । पहिलो र दोस्रो दुवै कार्यकालमा अध्यक्ष थापाले गाउँपालिकामा गरेका कामको निकै चर्चा हुँदै आएको छ ।

स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । ५ नगरपालिकामध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ गल्याङले ६६.१ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, हरिनासले ५४.२, अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् । गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरिका ७५३ वटा स्थानीय तहमध्ये चौथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरिबाट पाचौं बनेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update