नेपाल न्युज प्वाइन्ट डटकम
ऊर्जा मन्त्री खड्का र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल-भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल-भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयन्त्रहरूबाट विद्युत् व्यापार, थप प्रसारण लाइन निर्माण र भारतीय लगानीका जलविद्युत् आयोजनाहरूको विषयमा भएको उपलब्धीका लागि भारत सरकारलाई धन्यवाद दिए ।

बैठकमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडो टुङ्याउनेबारे छलफल भएको थियो । त्यस्तै भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको आसन्न नेपाल भ्रमणको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले भारतीय लगानीमा नेपालमा निर्माण भइरहेको आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरे । उनले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा भारतको सधैँ साथ र सहयोग रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update