नेपाल न्युज प्वाइन्ट डटकम
गोरखाको बारपाक सुलीकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो

गोरखा : गोरखाको बारपाक सुलीकोट गाउँपालिका स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो भएको छ । गोरखामा ११ वटा पालिका रहेका छन् । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनको नतिजा अनुसार बारपाक सुलीकोट गाउँपालिका ७०.०८ अंक प्राप्त गर्दै जिल्लाकै पहिलो भएको हो ।

बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आले मगरले यस नतिजाले आफूहरु निकै नै हर्षित भएको बताए । उनले हाल भएका उपलब्धिलाई रक्षा गर्दै अगामी दिनमा आयोगले तोकेका सबै सूचकहरूलाई केन्द्रमा राखेर अघि बढ्ने योजनामा गाउँपालिका रहेको जानकारी दिए ।

भिमसेन थापा गाउँपालिका ६९.०१ अंक ल्याउँदै दोस्रो भएको छ भने आरुघाट गाउँपालिका ६८.०९ अंक प्राप्त गर्दै तेस्रो भएको छ ।

चुमनुब्री गाउँपालिकाले ६७.०१ अंक प्राप्त गरेको छ भने धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अंक प्राप्त गरेका छन् ।

शहीद लखन गाउँपालिकाले ६६.४ अंक प्राप्त गरेको छ । गोरखाको पहिलो नगरपालिका गोरखा नगरपालिकाले ६०.७ र गण्डकी गाउँपालिकाले ६०.० अंक प्राप्त गरेका छन् । सिरानचोक गाउँपालिकाले ५८.६ अंक प्राप्त गरेको छ भने जिल्लाको सबैभन्दा कम अजिरकोट गाउँपालिकाले ५७.१ अंक प्राप्त गरेको छ ।

आयोगले प्रदेश तथा स्थानिय तहको कार्य सम्पादन मूल्यांकनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको हो । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजानिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्यांकन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू रहेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update