नेपाल न्युज प्वाइन्ट डटकम
भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौं : प्रचण्ड

झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ संकल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको स्मरण गराउँदै उनले अब पार्टीले देशब्यापी अभियानको रुपमा यसलाई अघि बढाउने बताए ।

‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ उनले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’

अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि उनले बताए । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उनले स्पष्ट पारे ।

‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update