
काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाल कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदका लागि मतदान भएको थियो ।
दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए ।
यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
दाहाललाई नेकपा माओवादी केद्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन थियो।