
-टिका पाण्डे
अरुले विश्वास गरुन् नगरुन् त्यो छुट्टै कुरा भो
तर अहिले मैले
अलिकति झ्याल खुला गर्ने योजना बनाएको छु ।
तपाई भन्नुहोला नि
जाबो झ्याल खोल्न पनि
के नै योजना चाहिन्छ छ र ?
तर त्यसो होइन
झ्याल खोल्नु पनि कैयौं चरणहरु पार गर्नुपर्ने हुन्छ ।।
पहिला त आफू झ्याल भएको कोठामा हुनुपर्यो,
उठ्नुपर्यो,
उठेर पनि झ्यालसम्मै सकुशल पुग्ने कष्ट गर्नुपर्यो,
हातगोडा फैलाएर मस्तसँग झुन्डिएर
चमेरो झैं सुतेको पर्दालाई
उता जाउ भन्दै कुचुक्क कुनामा पुर्याउनुपर्यो,
अनि सीसाको पालो
जालीको पालो ...
त्यसपछि पो
सबै त एकैचोटी हुन्न नि
जे मा नि चाहिन्छ समय
तीन चौथाई फेब्रुअरी सकिँदा पनि
चिसो सकिने लक्षण छैन यहाँ
आहा !
भन्न नपाउँदै मैले पहिलै आहा ! भन्दै उसैले
मेरा नाक गाला छुन आइपुग्यो चीसो बतास
हो यतिबेला मलाई लाग्यो
संसारमा दुई चिज खुब चंचल रहेछ्न्
पहिलो मौसम
दोस्रो यही मौसमजस्तै मन...