
काठमाडौं : झण्डै ७ वर्ष पनि १४औं दक्षिण एसियाली खेलकुद (साग) अर्को वर्ष पाकिस्तानमा हुने भएको छ । यसअघि १३औं दक्षिण एसियाली खेलकुद सन् २०१९ मा नेपालमा भएको थियो । साग प्रत्येक २ वर्षमा आयोजना गर्ने प्रावधान छ ।
दक्षिण एसियाली ओलम्पिक परिषद्को मंगलबार पाकिस्तानको लाहोरमा बसेको बैठकले साग जनवरी २०२६ मा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार साग प्रतियोगिता २३ जनवरी (माघ ९) देखि ३१ सम्म पाकिस्तानमा हुने छ ।
सागका खेलहरू पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुनेछ । परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा बसेको बैठकले सागमा २७ खेलहरू समावेश गर्ने निर्णय पनि गरेको छ ।
आयोजक राष्ट्रले थप २ खेल समावेश गर्न पाउने प्रावधान छ । कुनै खेल हटाइएमा वा ४ भन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइनेछ ।
बैठकमा सबै ७ दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो ।