नेपाल न्युज प्वाइन्ट डटकम
वीर अस्पतालमा २ सिफ्टमा शल्यक्रिया हुने

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक २ सिफ्टमा शल्यक्रिया हुने भएको छ । १ साताभित्रै २ सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए । 

निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरू थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं’, उनले भने, ‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइसकेको बताए । ‘अहिले दैनिक भएकोभन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ’, उनले भने, ‘अब पहिलेभन्दा महिनामा २ सय जनाले बढी सेवा लिन पाउने छन् ।’

अस्पतालले शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताए । 

‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं’, उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update