नेपाल न्युज प्वाइन्ट डटकम
फाइनलमा पीएनजीसँग हार्‍यो नेपाल

कामाडौं : हङकङ टी-२० सिरिजको उपाधि पपुवा न्युगिनी (पीएनजी)ले जितेको छ । बुधबार भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पीएनजीले सिरिजको उपाधि हात पारेको हो ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । उनले १३ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाएका हुन् । यस्तै आरिफ शेखले २० बलमा १५ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ बलमा १२ रन बनाए ।

नेपालका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर बिनोद भण्डारी ४ रनमा बोल्ड हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए । गुलशन झा र लोकेश बमले समान ६-६ रन बनाए । करण केसीले ३, विवेक यादवले १ रन बनाउँदा प्रतीश जिसी शून्य रनमा आउट भए । पीएनजीका काबुआ मोरिया, सेमो कामिया, चाड सोपर, सेसे बाउले समान २ विकेट लिए भने एली नाओले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पीएनजीका लागि टोनी उराले अर्धशतकीय इनिङ खेले । उराले ३७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । यस्तै एली नाओले १० बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३० रन बनाए । हिला भरेले २१ बलमा १८ रन बनाउँदा हिरी हिरीले ९ बलमा १५ रन बनाए ।

त्यस्तै किप्लिन दोरिगाले १४ बलमा १४ रन बनाउँदा चाड सोपरले १७ बलमा १३ रनको योगदान दिए । कप्तान आसाद भाला २ रनमा आउट भए । नेपालका लागि आकास चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिए भने करण केसी र गुलशन झाले १-१ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update