नेपाल न्युज प्वाइन्ट डटकम
मधेशी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ : प्रचण्ड

धनुषा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।

महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको र मधेशी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले बताए । मधेशी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेशी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।

मधेशी जनताको मुक्तिका लागि मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेशी जनतामा जागरणको लहर ल्याउने, मधेश स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेशको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मधेशका मसिहा ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएकाले मधेशमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे । पार्टीका सबै पदाधिकारी अहिले मधेशमा रहेको र मधेशी पोशाकमै प्रस्तुत भएको प्रसंग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेशमा छ भन्ने विम्ब भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update