नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उनले आज पेस गरेको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मतविभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी भए । बैठकमा सभामुख देवराज घिमिरेले मतविभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधि सभाको अर्काे बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update