
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि केपी शर्मा ओली सरकारको आलोचना गरेका छन् । पछिल्लोपटक महानगरमा प्रमुख कार्यकारी अधिकृत नपठाएको भन्दै बालेन ओली सरकारमाथि बर्सिरहेका छन् । र संघीय सरकारमा भने बालेनले प्रमुख कार्यकारी टिक्न नदिएको भनिरहेको छ । यस विषयमा पनि बालेनले ओली सरकारलाई जवाफ फर्काएका छन् । सोमबार अपराह्न सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफ्नो कार्यकालमा चारवटा प्रमुख कार्यकारी अधिकृत आएको बताएका छन् । उनले तीमध्ये दुई जनालाई सरकारले महानगरलाई जानकारी नै नदिई हटाएको र दुई जनालाई भ्रष्टाचार गरेको भनी हटाएको बताएका छन् ।
बालेनले भनेका छन्, ‘सरकारले आफू मातहतका एक जना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सीडीओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला । एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ ।’
बालेनले प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन लुकाइयो भन्ने प्रश्नको पनि जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘कार्यकारीको छानबिनको रिपोर्ट लुकाइयो भन्ने भ्रमः लुकाउनलाई त हुनु पर्यो नि, होइन । रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ ।’ १५ फागुनमा मात्र संघीय मामिला मन्त्रालयले महानगरलाई पत्र पठाउँदै गुरागाईंमाथिको कारबाहीबारे जानकारी मागेको थियो ।