नेपाल न्युज प्वाइन्ट डटकम
कुलमानलाई हटाउन खोजेको भन्दै संसदमा विपक्षी दलहरुको विरोध, सभामुखले गरे रुलिङ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी दलरूले आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकोबारे पनि विपक्षी दलरूले सरकारसँग जवाफ माग गरे ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमानलाई हटाएर सदन र सदन चर्काउने चेतावनी दिए ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । 

त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएका थिए ।

सांसद पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे ।

सांसद झाले घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाए । एउटा कुलमानलाई लखेटे आफूहरु हजारौं कुलमान लिएर आउने उनले बताए ।

सांसद शाहीले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाइए त्यसको विरोध हुने बताए ।

विपक्षी दलहरूबाट आवाज उठेपछि सभामुख देवराज घिमिरेले कुलमान घिसिङबारे सदनलाई जानकारी गराउन रुलिङ गरे ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update