
काठमाडौं : जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पांग्रा बिना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ ।
आज अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, “एक पांग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पांग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।”
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । “जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पांग्रा हराएको पत्ता लागेको थियो । नियमित जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि खोजी सुरु गरिएको थियो । खोजी गर्दा जहाज उड्ने क्रममा जनकपुर विमानस्थलकै रनवे टर्निङ प्याडमा पांग्रा खसेको पुष्टि भएको थियो ।