नेपाल न्युज प्वाइन्ट डटकम
बेलबारी बन्यो सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कोशी प्रदेशकै पहिलो पालिका

काठमाडौं : सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालीका बनेको छ । सरकारको मुख्य प्राथमिकताको क्षेत्रको रुपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिकवर्गलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत मोरङको बेलबारी नगरपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको हो । 

बेलबारी नगरपालिका कार्यालयमा सोमबार कोषका तर्फबाट कोशी प्रदेश अन्र्तगत विराटनगर शाखा प्रमुख सौरभ मिश्र र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईबीच नगरपालिकाका उपप्रमुख नितु थापा र कोषका तर्फबाट महेश प्रधानको रोहबरमा बेलबारी नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो  ।

सम्झौतापछि नगर प्रमुख राईले नगरपालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघ महिनादेखि नियमितरुपमा सहयोगदान गर्ने बताए । साथै आगामी आर्थिक वर्षको लागि श्रोत व्यवस्थापन गरि पालिकामा कार्यरत अस्थाई तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कार्ययोजना रहेको बताए ।

सो अवसरमा कोषका तर्फबाट विराटनगर शाखा प्रमुख सौरभ मिश्रले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेकोमा बेलबारी नगरपालिकालाई बधाई तथा शुभकामना दिए । वर्तमान सन्दर्भमा जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउँदै उनले बेलबारी नगरपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

सोही अवसरमा बेलबारी नगरपालिका नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधि तथा कोषबीचमा कोषमा आवद्धताका सम्बन्धमा तथा कोषका बारेमा त्रिपक्षीय अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको शाखा कार्यालय विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update