
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन हुन लागेको हो ।
पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आह्वान गरेको छ । दिउँसो करिब तीन बजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
लामो समयदेखि पोखरा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि राप्रपा, राप्रपा नेपाल, राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ति नेपाल, शिव सेना नेपाल, एटिएफ, आरटिएफ, वीर गोर्खाली अभियानलगायत राजा तथा हिन्दुवादी समूहले आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम गर्दै छन् ।