
लुम्बिनी : विश्व शान्तिको कामनासहित बुद्ध जन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्वलन गरिएको हो ।
धम्मकाय फाउन्डेसनले भिक्षु-भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्र भाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरेका थिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताए । यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए ।