नेपाल न्युज प्वाइन्ट डटकम
कोशीमा प्रधानमन्त्री ओलीको सम्बोधनलाई बहिस्कार गर्ने प्रतिपक्षीको तयारी

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको कोशी प्रदेशको बैठक प्रतिपक्षी दलहरूले बहिस्कार गर्ने तयारी गरेका छन् ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठक बहिस्कार गर्ने तयारी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रधानमन्त्रीले मंगलबार प्रदेशसभा बैठकमा सम्बोधन गर्नेबारे आफूहरूलाई जानकारी नै नदिइएका कारण पार्टीका सांसदहरू बैठकमा उपस्थित नहुने बताए । 

आङ्बाले अहिलेकै अवस्थामा माओवादी केन्द्र मात्रै नभई अरु प्रतिपक्षी दलका सांसदहरू पनि बैठकमा उपस्थित नहुने दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले बहिस्कार नै गर्ने भन्ने नभए पनि अहिलेकै अवस्थामा उपस्थित नहुने सम्भावना रहेको बताए ।

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू बोलाएर औपचारिक जानकारीसहित के विषयमा सम्बोधन गर्नेबारे प्रष्ट पारेको खण्डमा उपस्थित हुन पनि सकिने राईले स्पष्ट पारे । 

राप्रपाकी प्रमुख सचेतक सविना बजगाईँले पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभाको बैठकमा राप्रपाका सांसदहरू उपस्थित हुने स्पष्ट पारिन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update