
काठमाडौ : नेपाल शिक्षक महासंघले मंगलबारदेखि राजनीतिक दलका कार्यालय घेराउ गर्ने भएका छन् ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबारदेखि पार्टीका कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । २४ फागुनमा पहिलो चरणको आन्दोलन पुरा गरेको महासंघले २७ फागुनदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
म्ंगलबारदेखि ५ चैत्र ५ सम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम महासंघको छ ।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन शनिवार देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत महासंघले मंगलबार नेपाली कांग्रेसको कार्यालय घेराउ गर्ने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
त्यस्तै बुधबार नेकपा एमालेको कार्यालय, चैत्र १ गते नेकपा (माओवादी केन्द्र)को कार्यालय र चैत्र २ गते नेकपा (एकीकृत समाजवादी)को कार्यालय घेराउ गरिने पनि अध्यक्ष सुवेदीले बताए ।
त्यस्तै चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गरिने छ ।
लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासंघले २० माघदेखि आन्दोलन थालेको हो ।
विगतमा धेरैपटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएको महासंघले जनाएको छ । विगतमा भएका ती सबै सहमति सम्बोधन हुनेगरी नयाँ विद्यालय शिक्षा ऐन आउनुपर्नेमा त्यसका ढिलाइ भइरहेको महासंघको भनाइ छ ।
त्यस्तै सांसदहरूसँग भेटघाट कार्यक्रम समेत महासंघले अघि सारेको छ । महासंघले २० चैतदेखि काठमाडौँका सडकमा अनिश्चितकलीन आन्दोलन गर्ने पनि जनाएको छ । आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने महासंघले जनाएको छ । यस अवधिमा सबै सरकारी कामकाजको बहिष्कार गरिने समेत महासंघको योजना छ ।