नेपाल न्युज प्वाइन्ट डटकम
लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

वैवाहिक सम्बन्धबिनै जन्मिएका बच्चाले कानूनी मान्यता पाउने भएपनि लिभिङ टुगेदरलाई सम्बोधन गर्ने कुनै कानून नभएको जिकिर रिट निवेदकको छ ।

लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता भट्टराईले यसलाई व्यवस्थित गर्न कानून बनाउन माग गर्दै रिट दायर गरेकी हुन् ।

निवेदनमा भनिएको छ, ‘लिभिङ टुगेदरलाई समयमै नियमन र व्यवस्थापन गर्न अति नै जरुरी र आवश्यक रहेकाले कानुनको अभावमा लिभिङमा रहने प्रचलनलाई अनैतिक मानिसले गर्ने खराब आचरणजन्य कार्यको रुपमा लिने मानसिकताबाट समाजलाई मुक्त बनाउने तथा त्यस्ता सम्बन्धमा रहे बसेका मानिसहरुमा उत्पन्न हुन सक्ने समस्याबाट बचाई तिनीहरुको मर्यादा कायम गराउने पेशागत धर्म तथा नैतिक जिम्मेवारी सम्झिदै कानुनी उपचारको अन्य वैकल्पिक कानुनको समेत व्यवस्था नभएकाले सम्मानित अदालतमा यस रिट निवेदन लिएर उपस्थित भएको छु ।’

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update