नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त आईजीपी थापा

काठमाडौं : सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिँदै नवनियुक्त आईजीपी थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताए । उनले प्रहरीभित्रको सुधार आफैंबाट सुरु गर्ने बताए ।

उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरुरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’ 

साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update