नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीले भने- 'सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फछर्यौट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ भएको सदनलाई जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।” 

प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।”

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update