नेपाल न्युज प्वाइन्ट डटकम
बक्यौता असुली गर्न खोज्दा मलाई बर्खास्त गरियो : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बन गरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सिर्जना भएको बताए । उनले लाइन बिच्छेद गरी बक्यौता असुली गर्ने सहमतिका लागि आफूले विद्युत नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिए । 

त्यस्तै उनले नेपाली जनतालाई भरपर्दो गुणस्तरिय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवं अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह र शक्तिले आफूलाई सफल ठानेको बताए । नेपाली जनताले दिएको स्नेह र आशिर्वादले आफूलाई हार्न नदिएको उनको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा आफ्नो काम, कर्तव्य र अभिभारा कहिल्यै कम नहुने प्रतिबद्धता उनले जनाए ।

नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति नै खनिएको उनको गुनासो छ । तर त्यसबाट आफू कदापी उत्तेजित र हतोत्साहित नहुने पनि उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update