
सोलुखुम्बु : नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, जिल्ला समिति, सोलुखुम्बुको प्रथम विस्तारित बैठक सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ ।सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको छ ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य सुवास तामाङ, कोशी प्रदेश उपाध्यक्ष रत्न प्रसाद चौलागाईंको विशेष उपस्थिति तथा संगठनका प्रदेश कमिटी सल्लाहकार सदस्य काली बहादुर रावत, नेपाल राष्ट्रिय कर्मचारी महासंघका कोशी प्रदेश उपाध्यक्ष खरिधन राई, महासंघकै सोलु जिल्ला संयोजक मनिराज राई लगायतको उपस्थितिमा संचालन गरिएको उक्त बैठकबाट जिल्ला समितिलाई पूर्णता प्रदान गर्दै विभिन्न निर्णयहरु गरिएको प्रदेश उपाध्यक्ष रत्न चौलागाईंले जानकारी दिए ।
ई. नागेन्द्र बस्नेतको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाधयक्षमा वन्दना राई, उषा दाहाल र हिरोन राई रहेका छन् भने सचिवमा प्रकाण्ड न्यौपाने, कोषाध्यक्षमा प्रमित मगर र सहसचिवमा सागर मग्रातीलाई चयन गरिएको समिति अध्यक्ष नागेन्द्र बस्नेतले बताए ।
बैठकले जिल्लाका आठ वटै स्थानीय तहमा पालिका भेला गर्नका लागि संयोजकहरु तोकको छ भने लेखा अधिकृत तिर्थराज कटेलको संयोकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, सोलु जिल्ला समितिका पूर्व उपाध्यक्ष तिर्थराज कटेल सहित २ जना कर्मचारीहरुलाई नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा प्रवेश गरेकोमा स्वागत गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
यस भेलाले नेपाल राष्ट्रिय कर्मचारी महासंघको ७ सदस्यीय समितिलाई पूर्णता दिइको छ । वन अधिकृत श्री मनराज राईको संयोजकत्वमा गठित उक्त समितिका उपाध्यक्षमा खिला तामाङ, सचिवमा कूलदीप साह र कोषाध्यक्ष बाबुराम बस्नेत चयन भएका छन् ।
सो भेलाले सोलुखुम्बु जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको छाता संगठन प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपालको सोलु जिल्ला समिति गठन गर्नका लागि कोपिला श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय एक सम्मेलन आयोजक समिति समेत गठन गरिएको जानकारी महासंघका जिल्ला अध्यक्ष मनराज राईले बताए ।