काठमाडौ : नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन चैत १७ र १८ गते चितवनमा हुने भएको छ ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रबर्द्धन, दीगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन गईरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रबर्द्धन गर्नु रहेको छ ।
सम्मेलनमा कृषिमा नवप्रबर्द्धन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्ममशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।
उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरुको सशक्तिकरण तथा प्रबद्र्धनका समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो ।
सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौति तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने छ । सम्मेलन अन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरुको प्रदर्शनी समेत गरिनेछ ।