
काठमाडौं : राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताए । उनले समय सीमाभित्र सरकारले नेताहरुलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरुको रगतले लत्पतिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामूहिक गिरफ्तारी दिने बताए ।
उनले आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गरे । उनले सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरुको कुनै मनसाय नभएको भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गरे ।
डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरुले हल्ला चलाएको बताए । उनले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी गरे ।