नेपाल न्युज प्वाइन्ट डटकम
उपत्यकामा वर्षा, प्रदूषण हट्ने आशा

काठमाडौं : काठमाडौं उपत्यकाको विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकालगाायतका विभिन्न स्थानमा वर्षा भइरहेको र बाँकी स्थानमा पनि साँझसम्म वर्षा हुने जानकारी दिए । 

'मध्याह्न ३ बजेसम्ममा उपत्यकाको सबै स्थानमा वर्षा हुन सकिरहेको छैन । भक्तपुर र ललितपुरको पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ,' उनले भने, 'बिहीबार बिहान र दिउँसो पनि वर्षा हुन्छ । यसपालिको वर्षाले वायु प्रदूषण घटने र किसानलाई राहत पुग्छ ।'

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ । उनका अनुसार  मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए । 'काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ', उनले भने । 

एयर क्वालिटी इन्डेक्सको तथ्यांकअनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेको छ ।  

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update