नेपाल न्युज प्वाइन्ट डटकम
नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन् । अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

उनले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारे । “आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु”, राष्ट्रपति पौडेलले भने ।

नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा भाग लिँदै अन्तरराष्ट्रिय जगत्मा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।

नेपाली सेनाको उच्च अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पूरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिब एक लाख ५८ हजारभन्दा बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्यदक्षता प्रदर्शन गरिसक्नु खुसीको विषय भएको बताए । हाल विभिन्न ११ मिसनमा करिब छ हजारभन्दा बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकमध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।

“राष्ट्रसंघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब ६ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिबद्धताको इतिहासलाई तपाईंहरूले निरन्तरता दिँदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने ।

त्यसैगरी  उनीहरूका परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्रसंघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पूरा गर्न सफलता मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हालको बदलिँदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरू जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुनसक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रूपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरे । 

“विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रूपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्यसम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्वतयारीसम्बन्धी प्रस्तुतिको अवलोकन गरेका थिए भने शान्ति मिसनसम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update