
काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन् ।
आउँदो सदनमा सरकार पक्षले समिति बनाउन नमाने सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझिने उनले बताइन् ।
अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन् ।
उनले सहकारी प्रकरणमा दिपेश पुन पक्राउ पर्ने तर गृहमन्त्रीले भने प्रतिपक्षीलाई चार वर्ष अवरोध गरोस् भन्ने चुनौती दिइरहेको बताइन् ।