
काठमाडौं : आईसीसी यु–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।
नेपालले बुधबार खेलिएको खेलमा हङकङलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । निरज यादवले २३ रन बनाए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन जोडे । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमसनले १० रन जोडे ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । यसैगरी, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा यूएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ ।