नेपाल न्युज प्वाइन्ट डटकम
सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सीआईबीले पठायो सभामुखलाई पत्र

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संघीय संसदका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै सीआईबीले सभाामुख घिमिरेलाई पत्र पठाएको हो ।

सीआईबीको पत्रमा भनिएको छ, ‘…बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दश रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update