नेपाल न्युज प्वाइन्ट डटकम
राप्रपाले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । 

राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् । 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै उनले चैत १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी एवं राजनीतिक दुवै लडाइँलाई सशक्तरुपमा अगाडि लैजाने निर्णय गरेको बताए । 

उनले भने, ‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं । कार्यक्रमलाई आन्दोलन केन्द्रीत बनाउने निर्णय भएको छ । पार्टीका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी र राजनीतिक दुवै लडाइँलाई सशक्तरुपमा अगाडि लैजाने निर्णय गरिएको छ ।’

यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए ।  

उनले भने, ‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय भएको छ । त्यस क्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय भएको छ । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’ 

राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update