नेपाल न्युज प्वाइन्ट डटकम
असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई अधिकृत समूहको आर्थिक सहयोग

पर्सा : निजामती सेवातर्फका शाखा अधिकृतहरुको एक समूहले पर्साको ठोरी–१ को भगवाननगरमा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई आर्थिक सहयोग गरेको छ । बुधबार शाखा अधिकृतको ३६औं ब्याचका अधिकृतहरुको समूहले समाजलाई १ लाख ३० हजार १ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो सहयोग रकम शाखा अधिकृतहरु मनिसा कुमारी, राजन पाण्डे, पुरुषोत्तम बराल, जगदिश सहनी, तेज प्रकाश भण्डारीलगायतले समाजका संरक्षक आश बहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा ठोरी–१ का वडाध्यक्ष धनमान थापा, ठोरी–३ का शिक्षक सुर्य बहादुर खड्का, युवा मिलन खड्कालगायतको उपस्थिति रहेको थियो ।

सुगम ठाउँमा रहेका असहाय आश्रममा सबै दाताको ध्यान पुग्ने गरेको तर दुर्गम ठाउँका यस्ता आश्रममा कसैको पनि ध्यान नपुग्ने हुनाले आफुहरुले सबैको ध्यानाकर्षण गर्नका लागि सहयोग गरेको अधिकृतहरुको भनाइ उद्धृत गर्दै शिक्षक खड्काले जानकारी दिए ।

सोही समूहका एक शाखा अधिकृत सुमन ढकालले निजामती कर्मचारीका सबै समूह (बीएटी)हरुले यसैगरी समाज कल्याणका यस्तै परोपकारी क्षेत्रमा सहयोग गर्नुपर्ने बताए । 

अधिकृत सुमन ढकालले भने, 'यसैगरी निजामती कर्मचारीका सबै समूह (बीएटी)हरूले कहीँ न कहीँ समाज कल्याणका यस्तै परोपकारी क्षेत्रमा सहयोग गर्दै जाने हो भने नेपालका धेरैजसो वृद्धाश्रम र कल्याण समाजका वृद्ध वृद्धा तथा असहाय आमाबुवाहरूको सरकारी कर्मचारीहरूप्रतिको श्रद्धाभावको प्रशंसा गर्ने थिए र नेपालको निजामती प्रशासनले आशिर्वाद प्राप्त गर्ने थियो । आम जनमानसमा नै निजामती कर्मचारीप्रतिको धारणा र सोच बदलिने थियो ।'

अधिकृत ढकालले सामाजिक कार्यहरुमा सहयोग गर्न सबैलाई एकजुट हुन पनि आह्वान गरे । ढकाल भन्छन्, 'त्यसैले पूण्य र परोपकारका सामाजिक कार्यहरूमा सहयोग गर्न सबै एकजुट हौं, एउटा नयाँ संस्कार बसालौं ।'

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update