
काठमाडौं : घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । शनिबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो ।
यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ । नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब थियाे ।
खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भनिएपनि वर्षाका कारण सुरु हुन सकेन । पछि वर्षा रोकिएपनि मैदान चिसो भएका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् ।
यसरी अंक बाँड्दा नेपाल र अफगानिस्तानबीच समान सात अंक भएपनि नेटरेनरेटका आधारमा नेपाल पछि परेको हो । नेट रन रेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो ।