नेपाल न्युज प्वाइन्ट डटकम
बिजुली बजारमा राप्रपाको प्रदर्शन, निषेधित क्षेत्र तोड्नेलाई पक्राउ गरिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो । 

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । 

राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । 

प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update