
काठमाडौं :बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) बयान लिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आशंकामा सीआईबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए ।
बयान दिएर बाहिरिने क्रममा चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र स्टन्ट गर्नेलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाए ।
उनले अहिले कठिन आर्थिक परिस्थितिबाट मुलुक गुज्रिइरहेको बेला उद्यमीहरूबीच कस्तो सन्देश जाने भन्दै प्रश्न पनि गरे ।
सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् ।