
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
आइतबार पत्नी डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवाना र भतिजा (स्वकीय सचिव) भानु देउवासहित बैंकक प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री राणा २१ देखि २५ अप्रिलसम्म बैंककमा हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१ औँ सत्रमा पनि सहभागी हुने छिन् ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नेछिन् । सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग विषयमा उनले बोल्ने बताइएको छ । सो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।
सभापति देउवा बैंकक उडेपछि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफू नफर्केसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।